मनका कुराहरू
हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा अभिवादन छ । यस रिच नेपाल डट वेब साइट हेर्नुभएको निम्ति यहाँहरूलाई धेरै धन्यवाद छ । यहाँहरू समक्ष हाम्रो उदेश्यलाई प्रस्तुत गर्न पाउँदा हामी धेरै हर्षित छौं । प्रिय दाजुभाइ तथा दिदीबहिनी, हामीहरू परमेश्वरद्वारा सृष्टि गरिएका हौँ र हाम्रो जीवनको निम्ति परमेश्वरले महान् र उत्तम योजना राख्नुभएको छ । परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको योजना थाहा पाउनुबाट नै हाम्रो लक्ष प्राप्तीको उदगम हुन्छ । यदि हामी ख्रीष्टको शरीरका अंगहरू हौँ भने उहाँ नै हाम्रो शिर र जीवनको श्रोत हुनुहुन्छ । उहाँको वचन र अधिकारमा भरोसा राखेको कारणले हामीले येशू ख्रीष्ट र उहाँको राज्यको बारेमा जे जति जानेका छौं त्यसलाई तपाईहरू समक्ष पस्किन पाउनु हाम्रो निम्ति आनन्द र सौभाग्यको कुरा हो । सुसमाचार (येशूमा विश्वासद्वारा मुक्ति पाउने मार्ग) चाहिँ केवल भौगोलिक, राजनैतिक राष्ट्रका लागि मात्र नभएर प्रत्येक देशको प्रत्येक जातिको निम्ति हो । यसद्वारा धेरै ख्रीष्टियानहरू, र अन्य धर्मालम्बीहरूलाई उत्साह र हौसला प्राप्त गर्न मदत मिलोस् र हाम्रा मित्रहरूका निम्ति आत्मिक खुराक प्रदान गर्न सकोस् भन्ने हाम्रो आकाँक्षा रहेको छ । वास्तवमा कुनै पनि काम एक्लै गर्न असम्भव छ । त्यसैले हामीलाई तपाईको प्रार्थना, समालोचना, सुझाव, जिज्ञासा, रचना, मर्मस्पर्शी गवाही र यस साइटको बारेमा आफ्ना हितैषीहरूलाई जानकारी दिनुजस्ता सहायता आवश्यक छ । परमेश्वरले प्रत्येकलाई भिन्नै वरदानहरू दिनुभएको छ भनी हामी विश्वास गर्दछौं । धेरै कुराहरूको अभावको बाबजूद पनि हामीले आफ्नो खुबी र वरदानहरूलाई बाँड्न चाहने व्यक्तिहरूका निम्ति आवश्यक प्लेटफर्म हुन सकोस् भन्ने हेतुले यो वेब साइटलाई शुरु गरेका छौं । हामी तपाईलाई यस साइटमा सदा स्वागत गर्दछौं र तपाईहरुलाई उत्साह, आशा, प्रेम र जीवनको बारेमा येशू ख्रीष्टका गहन शिक्षा अनुभव गर्न निमन्त्रणा गर्दछौं । हामी तपाईसँगै हातेमालो गर्दै जान चाहन्छौं ।
ख्रीष्टको महिमित सेवामा,
रिच नेपाल टिम
हामी को हौं ?
रिच नेपाल डट कम दक्षिण कोरियामा ईश्वरशास्त्र अध्ययन गर्दै गरेका विद्यार्थीहरू, सेवकहरू, र शुभचिन्तकहरूको सङ्गति हो । यो भिन्नै मण्डलीहरूमा सेवा गर्ने, र त्रिएक परमेश्वरलाई आराधना गर्ने नितान्त स्वतन्त्र विद्यार्थी र सेवकहरूको समूह हो । हामी आफ्नो देश, जाति, र मण्डलीलाई प्रेम गर्ने समर्पित जवान विद्यार्थी र परमेश्वरका सेवकहरूको भेला हौं । परमेश्वरले कोरियामा ईश्वरशास्त्र अध्ययन गर्ने र विभिन्न वरदानहरूले उहाँको वचनको घोषणा गर्नका निम्ति हामीहरूलाई अवसरहरू दिनुभएको कुरा हामी थाहा गर्छौं ।
हामी के गर्छौं ?
हामीहरू परमेश्वर र उहाँको वचनभित्र पूर्णरूपले बाँधिएका छौं । जुन धर्मशास्त्रको खण्ड
मत्ती २८:१९,२० मा आधारित भई निर्माण भएको छ । मत्ती २८:१९,२० यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ अनि तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ, अनि तिनीहरूलाई मैले आज्ञा दिएका सबै कुराहरू पालन गर्न सिकाओ । अनि निश्चय म सधैं अँ, यस युगको अन्तसम्म तिमीहरूसित छंदैछु ।” माथिको कारणले, हामीले पहिलो चरणमा यो वेब साइटलाई शुरुवात गरेका छौं । तपाईहरू विदितै हुनुहुन्छ कि यो विश्वव्यापीकरणको युग हो र हाम्रो उदेश्यलाई प्रत्येक व्यक्तिसम्म पुर्याउने र प्रकट गर्ने सबैभन्दा छिटो र सुलभ माध्यम वेब साइट हो । हामी येशू ख्रीष्टको सुसमाचार प्रत्येक नेपालीकहाँ फैल्याउनका निम्ति योगदान दिन मन भएका र समर्पित महानुभावहरूका लागि सदैव, एउटा आधारस्तम्भको रूपमा सहायता पुर्याउन कटिबद्ध छौ ।
रिच नेपाल समूहले मासिक लेखहरू, राष्ट्रीय-अर्न्तर्राष्ट्रीय घट्नाहरू र विभिन्न रोचक र ज्ञानवर्दक सामाग्रीहरू तपाईहरूका निम्ति प्रस्तुत गर्नेछ । यो साइटद्वारा सबैजना ख्रीष्ट येशूको प्रेम र एकतामा बाँधिन सकून् भन्ने हाम्रो आकांक्षा हो । तपाईहरूले यो वेब साइटलाई प्रेम गरेर यसको महत्त्वपूर्ण हश्तीको रूपमा रहनुहुनेछ भन्ने हामी आशा राख्दछौं ।
कार्यकारिणी सञ्चालक समिति
संयोजकः धर्म राज सिंह
लेखकः देबेन्द्र राज निरौला
ग्राफिकस विभाग : इजोक थापा
संगीत विभाग : अमर परियार
फोटोग्राफी :विबुर गुरुङ
टाइपिङ्गः सुशिला पोखरेल
सम्पादकः सुरेन्द्र कार्की



